२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि आह्वान


0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि भोलि बेलुका ५ बजे भित्र दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिनुभएको थियो । सत्तासमीकरण फेरिएसँगै एमाले सरकारबाट बाहिरिएपछि एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बन्नुभएका सोडारी अल्पमतमा पर्नुभएको थियो । उहाँ एक सय पाँच दिनसम्म मुख्यमन्त्री पदमा रहनुभयो । पछिल्लो चुनावपछि गठन भएको सुदूरपश्चिम प्रदेशसभाले अहिलेसम्म तीन मुख्यमन्त्री फेरबदल गरिसकेको छ ।

अब चौथो मुख्यमन्त्रीको चयन प्रक्रिया शुरु भएको छ । सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित हुन सकेको छैन ।