१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालेन्द्र साहलाई विद्यासुन्दरको चेतावनी – नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य हुँदैन


1.391k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताउनुभएको छ ।

शनिबार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै पूर्वप्रमुख शाक्यले महानगर प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै धरहरा भत्काइदिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिन वाञ्छनीय नहुने बताउनुभयो । उहाँले अरुलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुनु नहुने बताउनुभयो ।

पूर्वप्रमुख शाक्यले आफू काठमाडौं महानगरको मेयर हुँदा महानगरले विभिन्न राम्रा कामहरु गरेको उल्लेख गर्नुभयो । उहाँले आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९ औं स्थानमा राखेको भएपनि अहिले हैसियतअनुसार काम नहुँदा १७ औं स्थानमा पुगेको जिकिर गर्नुभयो ।

पूर्वमेयर शाक्यले स्थानीयको इच्छा विपरित कामनपाले काम गरिरहेको बताउनुभयो । उहाँले न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाउनुभयो । उहाँले जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोक्ने काममा लगाएको बताउनुभयो ।

पूर्वप्रमुख शाक्यले नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने पनि बताउनुभयो । उहाँले नगर प्रहरी अनावश्यक रुपमा थपिएको भन्दै आवश्यकता नरहेको जिकिर गर्नुभयो । उहाँले भत्काउने काममा मात्रै महानगर लागेको भन्दै महानगरवासी बनाएको भन्नेकुरा सुन्न आतुर रहेको बताउनुभयो । उहाँले महानगरपालिकाले करको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । सत्तामा भएकाहरु आफू रमाउनको लागि नभइ भविष्यको पुस्ताको खुशीका लागि लाग्नुपर्ने बताउनुभयो ।