
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आज ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौंथो दिन आज राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाइएको हो ।
भोटोजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाययादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, तीन वटै सुरक्षा अंगका प्रमुखहरुलगायत जावलाखेल पुगेका थिए ।
ललितपुरकी जिवित देवी कुमारीले समेत भोटो जात्राको अवलोकन गरेकी थिइन् भने जात्रा हेर्न सर्वसाधारणको पनि ठूलो भीड लागेको थियो ।
रातो मत्स्येन्द्रनाथको रथका चारै कुनाबाट हिरामोती, मणि, माणिक्य आदि बहुमूल्य रत्न जडित पुरातात्वीक महत्वको भोटो देखाउने चलन रहेको छ । त्यस अवसरमा राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गरेका थिए ।
भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा पनि समापन भएको छ । लिच्छवीकालदेखि भोटो देखाउने जात्रा मनाउने गरिएको जनविश्वास छ ।
प्रतिक्रिया दिनुहोस्