२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मधेशमा जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै जसपा नेपालको विरोध प्रदर्शन


0
Shares

काठमाडौं । मधेश प्रदेशमा जम्बो मन्त्रिपरिषद् गठन गरिएको विरोधमा जनता समाजवादी पार्टी, नेपालका समाजवादी युवा संघका नेता/कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको छ ।

मुलुकमाथी आर्थिक संकट रहेको समयमा राज्यकोषको दोहन गर्ने हिसावले मधेशमा कुर्सी बचाउनकै लागि जम्बो मन्त्रिपरिषद् गठन गरिएको भन्दै समाजवादी युवा संघले विरोध प्रदर्शन गरेको हो ।

समाजवादी युवा संघका मधेश उपाध्यक्ष कमलेश यादवको अगुवाई जनकपुरधामस्थित रामानन्द चोकमा गरिएको विरोध प्रदर्शनमा कुर्सी आतंक बन्द गर, राज्यकोष दोहन गर्न बन्द गर लगायतका नारा समेत लगाएका थिए ।

समाजवादी युवा संघ मधेश प्रदेशका उपाध्यक्ष यादवले संघियतामाथी नै प्रहार हुनेगरी कुर्सी टिकाउनकै लागि जम्बो मन्त्रिपरिषद् बनाउनु मधेशवासीलाई सह्य नहुने बताउनुभयो । उहाँले जनमत पार्टीलाई चुनावअघि ठूलाठूला भाषणलाई विश्वास गरेर मधेसका जनताले अवसर दिएपनि अहिले आएर एमाले कांग्रेसको कठपुतली भएर काम गरिरहेको आरोप लगाउनुभयो ।

उपाध्यक्ष यादवले कानूनी रुपमा कुल प्रदेश सभा सदस्य संख्याको २५ प्रतिशतको संख्यामा मन्त्री बनाउन सक्ने प्रावधान रहेपनि कमजोर आर्थिक स्थिति रहेको मधेस प्रदेशमा जम्बो मन्त्रिपरिषद् गठन गर्नु गलत रहेको बताउनुभयो ।

यता समाजवादी युवा संघ धनुषाका अध्यक्ष दीपेन्द्र कापरले मन्त्रिपरिषद्लाई सानो आकारको बनाउन आग्रह गर्नुभयो । आफूहरुको आग्रह स्वीकार नगरिए शान्तिपूर्ण प्रदर्शनलाई चरणवद्ध रुपमा जारी राख्ने चेतावनी दिनुभयो ।