३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


नेपाल प्रेस काउन्सिललाई नेपाल डेरी एसोसिएसनको अनुरोध


364
Shares

काठमाडौं । भ्रामक समाचार प्रसारण गर्नेलाई सत्य तथ्य छानवीन गरि कारवाही गर्न नेपाल डेरी एसोसिएसनले नेपाल प्रेस काउन्सिललाई अनुरोध गरेको छ ।

केही दिनदेखि ग्यालेक्सी खबर टिभी, दोलखा समाचार एवं अन्य विभिन्न सामाजिक संजालमा दूध सम्बन्धी भ्रामक र अनावश्यक नकारात्मक टीका टिप्पणी गरी जनमानसमा भ्रम फैलाउने उद्देश्यले प्रसारण गरिएको समाचारप्रति एसोसिएसनले ध्यानाकर्षण भएको जनाएको छ ।

कसले, कहाँ र कहिले यस्तो कार्य गरेको हो भन्ने कुरा नखुलाई समग्र दुग्ध क्षेत्रलाई नै बदनाम हुने गरी समाचार प्रसारण गरिएकोले कोही दोषी भए एसोसिएसनले पनि दोषी उपर कारवाही गर्न तत्पर रहेको कुरा जनाउँदै नेपालमा बिक्री वितरण हुने कुनै पनि दूध तथा दुग्धपदार्थमा त्यस्ता खालका अखाद्य मिसावट नभएको बताएको छ ।

साथै प्रचारप्रसार गरिए जस्तो नक्कली दूध पनि देशमा नबन्ने कुरा आम उपभोक्ता मिडियाकर्मी र सरोकारवाला सबैलाई विश्वास दिलाउँदै यदि कोही कसैले त्यस्तो गलत कार्य गरेको पाइएमा सम्बन्धित निकाय वा खाद्य तथा गुण नियन्त्रण विभागमा खबर गर्न सकिने समेत डेरी एसोसिएसनले अनुरोध पत्रमा उल्लेख गरेको छ ।

स्वदेशी किसान, उद्योग र पुरै व्यवसायलाई नै असर पर्ने गरि बिना प्रमाण बदनाम गराउने उद्देश्यले गरिएका त्रियाकलापमा संलग्नलाई सम्बन्धित निकाय प्रेस काउन्सिलले कानुन बमोजिम कारवाही गर्न एसोसिएसनले अनुरोध गरेको छ ।