१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मैले शेयर बजार बढ्न हुँदैन भनेको छैन : पूर्वअर्थमन्त्री महत


754
Shares

काठमाडौं । पुर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेभित्र काम गर्ने कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ हुने गरेको दाबी गर्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले आफू अर्थमन्त्री भएको बेलामा धितोपत्र बोर्डले नेप्सेमा भित्रका सूचना लिएर (इन्साइडर ट्रेडिङ) हुने गरेको बोर्डले जानकारी दिएको बताउनुभयो ।

पूर्वअर्थमन्त्री महतले नेप्सेमा लिष्टेड भएका कम्पनीका मान्छे नेप्सेको कर्मचारी रहेको उनीहरुसँगकै सूचनाका आधारमा बजारमा इन्साइडर ट्रेडिङ कारोबार हुने गरेको धितोपत्र बोर्डकै अध्ययनबाट देखिएको बताउनुभयो । उहाँले धिातोपत्र बोर्डको अध्ययनले त्यस्तो अपारदर्शी कारोबार भएकाले देखाएकाले नियमक निकायका हैसियतमा तत्काल नियमन गर्नुपर्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री महतले यस्तो कारोबारमा बोर्डले हस्तक्षेप र निगरानी गर्न जरुरी रहेको बताउनुभयो । उहाँले आफू अर्थमन्त्री भएको समयमा यस्तो थाहा पाएको र छानबिन समिति बनाएर काम गरेको तर पछि सरकार फेरिए पछि अन्योल रहेको भन्दै नियमन गर्न बोर्डलाई आग्रह गर्नुभयो ।

पूर्वअर्थमन्त्री महतले शेयर बजारले अर्थतन्त्र धानेको छ भन्नु गलत भएको उल्लेख गर्नुभयो । उहाँले पुँजी बजारले अर्थतन्त्र धान्नु भन्दा पनि कतैकतै चलखेल हुने गरेको बताउनुभयो । उहाँले अहिले बनेको सरकारका कारण पनि बजार बढेको भन्दै यसलाई स्थायी बनाईराख्न चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँले बोर्डमा स्थायी अध्यक्ष बन्ने प्रकृया अघि बढेपनि अहिले रोकिनु राम्रो नभएको बताउनुभयो ।

उहाँले पुँजी बजारलाई लिएर आफूप्रति नकारात्मक धारणा नराखेको बताउनुभयो । उहाँले शेयर बजार व्यवस्थित र मर्यादित हुनुपर्छ भनेकोमा आफू विरुद्ध स्टेटमेण्ट नै जारी भएको बताउनुभयो । उहाँले आफूले शेयर बजार बढ्यो,बढ्नु हुँदैन नभनेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री महतले संसद्मा कुनै कम्पनी संस्थाको पक्ष वा विपक्षमा नभई आम सर्वसाधारणको पक्षमा बोल्ने सुसूचित गरेको बताउनुभयो । उहाँले केही कम्पनीहरूको शेयर अस्वाभाविक बढेकाले यसको वास्तविकता के हो र कम्पनीको वित्तीय स्थिति के छ भन्ने हेरेर लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।