
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले ठूला-ठूला ठेक्कापट्टामा निजी क्षेत्रको सहभागिता बिना भ्रष्टाचार सम्भव नहुने बताउनुभएको छ ।
बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने तर भ्रष्टाचारमा सामेल भएको खण्डमा निजी क्षेत्र भनेर छोड्नु नहुने बताउनुभयो ।
सांसद पन्तले निजी क्षेत्रलाइ लगानीको लागि निरुत्साहित गर्नु नहुने पनि बताउनुभयो । उहाँले नीतिगत भ्रष्टाचार हुन्छ भने नीतिगत भ्रष्टाचारलाई रोक्न के गर्ने रु अख्तियारले नीतिगत भ्रष्टाचार छानबिन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने वा नदिने भन्नेबारेमा पनि छलफल जरुरी रहेको बताउनुभयो ।
समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भ्रष्टाचारबिरुद्ध नागरिक सशक्तिकरण र सामाजिक जागरणमार्फत नियमनको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले पाठ्यक्रमहरुमा नै शुरुका दिनदेखि नै भ्रष्टाचार सामाजिक अपराध हो भन्नेकुरामा जोड दिएर स्थापित गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सशक्त र अनुशासित नागरिक खबरदारी गरेर मात्रै नीतिगत र अरु प्रकारका भ्रष्टाचार नियन्त्रण र नियमन गर्न सकिने धारणा राख्नुभयो ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भ्रष्टाचारको मुल श्रोत नै राजनीति भएको बताउनुभयो । उहाँले राजनीतिक दलबाट नै भ्रष्टाचारमा बढी मुसिने गरेको बताउनुभयो ।
सांसद कार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक भ्रष्टाचारीलाई समाउने नभइ उम्किने बाटो दिइरहेको जस्तो अनुभव भएको बताउनुभयो । उहाँले कर्मचारीहरुले नेताहरुलाई भ्रष्टाचार गर्न सिकाइरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्