
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रमा देखाइने परम्परागत लाखे नाचको प्रदर्शन आजकल शहर बजारमा प्रदर्शन बढेको छ । पाल्पामा गठे मंगलदेखि देखाइने लाखे नाच दशैसम्म निरन्तर देखाउने परम्परा रहेको छ ।
बाजाको तालमा लाखे नाच नाच्ने गरिन्छ । राक्षस रुपी खम्पर बनाइ त्यसमा चौरी गाईको पुच्छरको लटा राखेर सिंगारेर लाखे बनाइन्छ । सिँगारिएको खप्परलाई टाउकोमा राखी महिलाको लुगा लगाएर पुरुषलाई लाखे नचाइन्छ ।
दर्शकलाई रमाइलो बनाउन लाखेलाई बुचाले जिस्काउँदै नचाउने गरिन्छ । लाखे नाच नेवारी संस्कृतिसँग जोडिएको हुँदा पाल्पाका नेवारी बस्तीमा लाखे नचाउने परम्परा रहेको छ ।
पाल्पाको भैरवस्थान, हार्थाैक, रैनादेवी, छहराको पेलावास, ताहु, बगनासकाली, रिडी लगायतका क्षेत्रमा लाखे नाच निकाली प्रदर्शन गर्ने गरिन्छ । द्वन्द्वकालीन समयमा कम हुँदै गएको लाखे नाच नयाँ संविधान पछि बनेका स्थानीय सरकारको सहयोगमा पाल्पामा प्रदर्शन बढ्दै गएको हो ।
पाल्पाका अन्य परम्परागत कला, संस्कृति, नृत्य लोप हुँदै गएपनि लाखे नाच भने बढ्दो रुपमा छ । लाखे नाचलाई संरक्षण गर्न देउराली संस्कृति अध्यन प्रतिष्ठान र तानसेनका केही युवाहरु मिलेर जात्राको समयमा लाखे नाच नचाउने गरेका छन् ।
तानसेनमा जात्राको समयमा दैनिक जसो लाखे नाच सञ्चालन हुँदै आएको छ । तानसेनमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि लाखे नाच मनोञ्जनको नयाँ साधन बनेको छ ।
प्रतिक्रिया दिनुहोस्