
काठमाडौं । इलाममा गत आर्थिक वर्षमा १ लाख ४१ हजार बढी पर्यटकहरु मेची राजमार्ग हुँदै भित्रिएका छन् ।
छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका हुन् ।
इलाममा एक लाख १७ हजार सात सय ४० आन्तरिक र २३ हजार सात सय ७७ जना विदेशी पर्यटक इलाम भित्रिएका थिए । सबैभन्दा कम भदौमा नौ सय १८ र सबैभन्दा बढी पुसमा ३६ हजार एक सय २३ जना पर्यटक इलाम घुम्न पुगेको जनाइएको छ ।
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा इलाम पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । पर्यटन सूचना केन्द्रको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा एक लाख ३३ हजार चार सय ४५ पर्यटक भित्रिएका थिए ।
इलामका पर्यटकीय क्षेत्रहरू अन्तुडाँडा, कन्याम, फिक्कल, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, गजुरमुखी लगायतका क्षेत्रमा बर्सेनी आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्