२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ताक्लुङ गढीको संरक्षण गर्दै तेह्रथुमका लिम्बु समुदाय


286
Shares

तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आफ्नै भाषा, लिपी, कला, साहित्य संस्कृति रहेको छ । लिम्बु समुदायको थरसँगै आआफ्नै गढी पनि रहेको छ । तीमध्ये तेह्रथुमको छथर ओख्रेमा रहेको ओझेलमा परेको ताक्लुङ गढी संरक्षण र प्रचारप्रसारमा उनीहरु जुट्न थालेका छन् ।

केही दिनअघि मात्रै हाडदुमहाड खेवाहाङ् मादेन प्रतिष्ठानले सिक्किमका पुर्व शिक्षा तथा पर्यटन मन्त्री आरबी सुब्बा खेवाहाङ मादेनको प्रमुख आतिथ्यतामा भव्य भेला सम्पन्न गर्‍यो । गढी परिक्रममा गर्न मिल्ने गरी गोरेटो बाटो निमार्णसँगै भेला बस्ने स्थानको समेत प्रतिष्ठानले व्यवस्थापन गरेको छ । मादेनसँगै छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका साथै भेलाका सहभागीले नौमती बाजा र च्याब्रङ बजाउँँदै गढी परिक्रममा गरेका थिए । इतिहास खोजी गर्ने काम चानचुने काम नभएको गाउँपालिका अध्यक्ष तिगेलाले बताउनुभयो ।

प्रतिष्ठानले मादेन लिम्बुहरुको वंशावली लेखन तथा संकलनलाई तिव्रता दिन टोल, वडाका साथै विभिन्न भेलाहरु गर्दै आएको छ । विश्वमा रहेका खेवाहरु गढीमा आउँदा पुर्खाहरु र उत्पत्ति थालो मानेर परिक्रमा गरेर फुलपाती चढाउने थितिको सुरुवातका साथ इतिहासको खोजी गर्ने लक्ष्य रहेको प्रतिष्ठानका अध्यक्ष महेन्द्र मादेनले बताउनुभयो ।

तेह्रथुमको छथर गाउँपालिका ६ सुदाप मुलथलो भइ धनकुटाको हात्तिखर्क, मुर्तिढुङगाका साथै विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका छन् । छथर खेवाहरुको गढी ऐतिहासिक पर्यटन प्रवर्धन गर्नुका साथै खेवा मादेनको वंशावली तयारीमा लाग्दै आएको प्रतिष्ठानका सदस्य सुर्य मादेनको भनाइ छ ।

मादेन लिम्बुहरु पछिल्लो समय वंशावली लेखन तथा अध्ययनका लागि पनि एक जुट भएका हुन् । मादेन लिम्बुहरु तेह्रथुमको सुदाप, धनकुटाको हात्तिखर्क, मुर्तिढुङगाका साथै नेपाल तथा विभिन्न मुलुकमा बसोबास गर्दै आएका छन् ।