८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मंकीपक्स : सरकारद्वारा सतर्कता अपनाउन आग्रह


455
Shares

काठमाडौं । सरकारले नेपाल पनि मंकीपक्स संक्रमणको जोखिममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै मंकीपक्स संक्रमणविरुद्ध पूर्वतयारी थालिसकेको जानकारी दिँदै नागरिकलाई स्वयम् सचेत हुन आग्रह गरेको छ ।

जोखिम नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले हवाई तथा स्थल नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेको छ । सरुवा रोगको निगरानी गर्न तीनै तहका निकायहरूलाई सतर्क गराइसकेको र सबै प्रदेशमा यस रोगको निदान तथा व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकिसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयबाट पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भएपनि आमनागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मंकीपक्सको रोकथाम र नियन्त्रणका लागि सम्भव हुने भएकाले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

मन्त्रालयका अनुसार केही समय यता अफ्रिकी मुलुक कोंगोमा मंकीपक्स भाइरसको अधिक घातक संस्करण ’क्लेड १बी’ का बिरामीहरू उल्लेखनीय रूपमा बढिरहेको जनाउँदै सबैलाई सचेत तुल्याएको हो ।

गत जनवरीदेखि हालसम्म मंकीपक्सबाट कोंगोमा ५४८ जनाको मृत्यु भइसकेको छ । एम पक्स संक्रमणमा ज्वरो आउने, ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने र आँखामा संक्रमण भइ दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुनसक्छ ।