२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


राष्ट्रपति पौडेलसँग पत्रकारको भेटवार्ता


234
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न भाषा, संस्कृति र समुदायलाई विकास गरेर राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूका प्रतिनिधि मण्डलसँग शीतल निवासमा भएको भेटवार्ताको क्रममा राष्ट्रपति पौडेलले देशको समुचित विकास गर्न सबै जातजातिको प्रतिनिधित्व हुनेगरी अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले २०७२ सालमा जारी भएको नेपालको संविधानले निर्दिष्ट गरेबमोजिम सञ्चार माध्यममा पनि समावेशी सहभागिताको आधार तयार गर्नुपर्ने बताउनुभयो ।

विभिन्न मातृभाषाबाट प्रकाशित भएका पत्रपत्रिकाले सम्बन्धित भाषा, साहित्य, संस्कृति विकासमा योगदान दिएको राष्ट्रपति पौडेलले बताउनुभयो । समावेशी र मातृभाषा पत्रकारिताको लागि काम गर्दै आएका मैथिली र नेपालभाषाका बहुसंख्यक भाषासेवीकै कारणले पत्रकारिता, साहित्य, दर्शन, इतिहास समृद्ध हुँदै गएको दाबी गर्नुभयो ।

भेटवार्ताका क्रममा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपालमा मातृभाषाको पत्रकारिता शुरु भएको एक सय वर्ष पुगेको सन्दर्भमा नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको स्मरणमा विभिन्न कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

गएको जेठमा भारत, बंगलादेश, भुटान लगायतका देशबाट आएका पत्रकारहरुको सहभागितामा प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न गरेको जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले धर्मादित्यको जीवनी र मुद्रा प्रकाशन गर्ने, हुलाक टिकट छपाउने, प्रतिमा बनाउने लगायतका कार्यक्रम रहेको विषयमा राष्ट्रपति पौडेललाई अवगत गराउनु भयो । उहाँले समावेशी तथा मातृभाषाको पत्रकारिता विषयका लागि सम्बन्धित ठाउँमा सचेत गराउन आग्रह गर्दै राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउनुभयो ।

एउटा फरक सन्दर्भमा राष्ट्रपति पौडेलले तनहुँ जिल्लामा विभिन्न भाषाका साहित्यकारहरुको प्रतिमा राख्ने तयारी भइरहेको जानकारी गराउनुभयो । नेपालभाषा साहित्यका महाकवि सिद्धिदास महाजुको नाउँ स्मरण गर्दै उहाँले नेपालभाषाको क्षेत्रमा विशिष्ट योगदान दिएका साहित्यकारहरुको प्रतिमा राख्ने इच्छा व्यक्त गर्नुभएको हो ।

नेपालमा बोलिने विभिन्न भाषाका साहित्यमा योगदान दिएका साहित्यकारहरुको एउटै आकार र प्रकारमा तयार गरिएका प्रतिमा राख्नका लागि राष्ट्रपति कार्यालयमा सम्पर्क गर्न समेत राष्ट्रपति पौडेलले आह्वान गर्नुभएको छ ।