२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्राविधिक अध्ययन गरेर च्यासल क्षेत्रको डुबान रोक्छौं : भौतिकमन्त्री दाहाल


195
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले च्यासल क्षेत्र डुबानको प्राविधिक अध्ययन गरी समाधान गर्ने बताउनुभएको छ ।

पानीको बहाव बढ्ने बित्तिकै मनोहरा खोलाले च्यासल क्षेत्र डुबानमा पर्ने भन्दै मन्त्री दाहालले सोबारे अध्ययन गरी डुबान हुन नदिने प्रतिवद्धता जनाउनुभएको हो ।

च्यासल क्षेत्रमै रहेको नेकपा एमाले केन्द्रिय पार्टी कार्यालय पनि डुबान पर्दै आएको छ । डुबानका विषयमा मंगलबार निरीक्षणका क्रममा मन्त्री दाहालले एमाले पार्टी कार्यालय अगाडि मनोहरा खोलाको पुल हटाउने वा मर्मत गर्ने सन्दर्भमा ललितपुर सडक डिभिजन कार्यालयका प्रमुखसहित निरीक्षण गर्नुभएको थियो । खोला निरीक्षणपछि मन्त्री दाहालले मनोहरा खालाको पुललाई मर्मत वा विकल्प खोज्ने सन्दर्भमा निरीक्षण गरिएको बताउनुभयो ।

मन्त्री दाहालले मोटरेवल पुल हटाउने वा पुलको तलको भागलाई हटाउने विषयमा प्राविधिकहरुसँग बसेर निर्णय लिने पनि जानकारी दिनुभयो । उहाँले पुलमुनीको भाग साँघुरो भएकाले पानी बग्न नपाउँदा पार्टी कार्यालयसहित च्यासल फुटबल मैदान र आसपासका बस्तीमा पस्ने गरेको बताउनुभयो । उहाँले च्यासल क्षेत्रको सडक महत्वपूर्ण भएकाले पानीको बहाव बढ्नासाथ डुबान हुने अवस्थाबाट मुक्त गर्न आवश्यक रहेको बताउनुभयो ।

ललितपुर सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द अधिकारीले मनोहरा खोलाको पानी सहज रुपमा बग्नको लागि पुलमा समस्या देखिएको बताउनुभयो । उहाँले पुलको तलपट्टीको भागले पानीलाई रोकेको भन्दै प्राविधिकसहित आएर अध्ययन गर्न मन्त्रीले निर्देशन दिनुभएको बताउनुभयो । उहाँले कार्यालयले चाँडै प्राविधिक अध्ययन गरेर कार्यान्वयन गर्ने पनि बताउनुभयो ।

मन्त्री दाहालले पुल मर्मत गरी पानी सहज रुपमा बग्नसक्ने अवस्था आए मर्मत मात्रै गर्ने, अन्यथा पुल भत्काएर अर्को बनाउने विकल्प खोज्ने बताउनुभयो ।