२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन सभामुखको ध्यानाकर्षण


624
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउनका लागि प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ ।

सभामुख घिमिरेले बुधबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको हो ।

प्रतिनिधि सभाको बैठक बिहीबार (भोलि) दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ ।

सभामुखले सोही कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रमुख सचेतकहरुलाई ध्यानाकर्षण गराउनुभएको छ । त्यसैगरी समितिका बैठकहरु प्रभावकारी ढंगले अगाडि बढ्न नसकेको भन्दै उहाँले प्रतिनिधि सभा बैठक नबसेको दिन अनिवार्य रुपमा समिति बैठक बसेर विधेयकहरुमाथि छलफल गर्न ध्यानाकर्षण गराउनुभएको नेकपा९एमाले०का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री सँगको प्रश्नोत्तर कार्यक्रमलाई व्यवस्थित गर्ने सन्दर्भमा सभामुखसँगको छलफल केन्द्रित भएको बताउनुभयो । उहाँले आगामी संसद बैठकहरुलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा भने भोलि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंग्याउने बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिहीवार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले सदनको आगामी काम, कारबाहीको विषय टुंग्याउने बताउनुभयो । उहाँले रास्वपाका सांसदहरुले दर्ता गराएका विभिन्न प्रश्तावहरु उपर आगामी बैठकहरुमा छलफल हुने पनि बताउनुभयो ।