
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको हद तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
ट्राफिक प्रहरी महाशाखामा कार्यरत नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ईश्वर श्रेष्ठसहित २१ जनाले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको इजलासले उक्त ब्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चको अन्तरिम आदेशसँगै अवकाशपत्र पाएका ती २१ जना प्रहरी अधिकृतहरुको जागिर तत्कालका लागि जोगिएको छ । उनीहरू यस मुद्दाको अन्तिम फैसला नहुँदासम्म नेपाल प्रहरीको सेवामा रहने भएका छन् । त्यस बाहेक ३० वर्षे सेवा अवधिका आधारमा केही समयभित्रै अवकाशमा जान लागेकाहरू पनि सेवामा कायम रहनेछन् ।
आदेशमा यसअघि पूर्ण इजलासले दिएको आदेश कार्यान्वयन नभएको सम्बन्धमा पनि प्रश्न उठाइएको छ । सो विषयमा १५ दिनभित्र जवाफ पठाउन पनि इजलासले आदेश दिएको छ ।
नेपाल प्रहरीका २१ जना अधिकृतसहित ९० जना र सशस्त्र प्रहरीका १८ जना गरी १०८ जना प्रहरी अधिकारीहरु ३० वर्षे सेवा अवधिका कारण यही १५ भदौमा अनिवार्य अवकाशमा जाने भएपछी उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्