२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


यो सरकारलाई सफल बनाउनुको विकल्प छैन : गृहमन्त्री लेखक


442
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता, सुशासन, दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताउनुभएको छ । शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री लेखकले मुलुकमा अहिले दुई ठूला राजनीतिक दलहरु मिलेर नयाँ राजनीतिक समीकरण बनेको उल्लेख गर्दै सरकार बनाउनकै लागि सरकार गठन नभएको बताउनुभयो । उहाँले पछिल्लो डेढ वर्षमा भएको राजनीतिक अस्थिरताका कारण आम नागरिकमा परेको निराशा चिर्न अहिलेको सरकार सफल हुने बताउनुभयो । उहाँले सरकार अस्थिर हुँदाको असर प्रत्यक्ष सेवा प्रवाहमा परेको बताउनुभयो ।

गृहमन्त्री लेखकले अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको र भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भएको बताउनु भयो । राजनीतिक दल र नेताहरु गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुँदा विकास निर्माणले गति लिन नसकेको बताउनुभयो । उहाँले वर्तमान सरकारलाई सफल बनाउनुको विकल्प नरहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘अहिले दुई ठूला राजनीतिक दलहरु मिलेर नयाँ सरकार बनेको छ । मुलुकमा स्थिरता दिनका लागि, राजनीतिक स्थिरता दिनका लागि, सुशासन कायम गर्न, दिगो शान्ति स्थापना, समृद्धि र विकासका लागि यो गठबन्धन बनेको हो । यस्तो गठबन्धन बिरलै बन्छन् । यो समीकरणलाई सफल बनाउनुको विकल्प छैन । जनताका निराशालाई आशामा बदल्नुपर्ने छ । अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प छैन ।’

गृहमन्त्री लेखकले जनताका निराशालाई आशामा बदल्नुपर्ने र अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प नरहेको बताउनुभयो ।