
काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ।
हालसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको प्रहरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ ।
शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो ।
बस नदी किनारमा अड्किएको छ । बसमा करिब ४० जना भारतीय पर्यटक र चालक र सहचालक सहित ४३ सवार रहेको प्रहरीको अनुमान छ । दुर्घटनामा ठूलै हताहती भएको पनि प्रहरी भनाइ छ ।
सशस्त्र प्रहरी बलको १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन भएको जनाइएको छ । घटनास्थल भिरालो र अप्ठ्यारो रहेको जनाइएको छ । उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धार गरिरहेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्