६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


यो भ्रष्टाचारीहरुको सरकार हो : अध्यक्ष दाहाल


1.118k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको सरकार भएको बताउनुभएको छ ।

शनिबार काठमाडौं–नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको सरकार भएको बताउनुभएको हो ।

अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको एकपछि अर्को फाइल खोल्न थालेपछि आफ्नो पालो आउने डरमा तत्कालिन सरकार ढालेर बर्तमान सरकार बनाइएको बताउनुभयो । उहाँले यो सरकार दलाल, पुँजीपतिहरु, बिचौलियाहरु, कमिसनखोरहरु, जालि, फटाहाहरुको प्रतिनिधिको रुपमा रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले आफू समातिने हुँ कि भनेर भ्रष्टाचारीहरुमा पैदा भएको डरका कारण यो सरकार बनेको बताउनुभयो । उहाँले भ्रष्टाचारीहरुको रक्षाको निम्ति यो सरकार बनेको जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले सरकारसँग भएको दुई तिहाईले केही नगर्ने बताउनुभयो । जनताको आकांक्षा र जनभावना विपरित गएमा दुई तिहाई बहुमतलाई जनताले ठेगान लगाइदिने उहाँको भनाई छ । उहाँले अहिले उत्पीडित जनताले पाएको अधिकारहरु माओवादीले ल्याएको भन्दै दुई तिहाइवालाहरुले दिएको अधिकार नभएको बताउनुभयो ।

अध्यक्ष दाहालले आफूहरुले संविधान संशोधन गरेर नेपाललाई पछाडी फर्काउन नदिने बताउनुभयो । उहाँले आफूहरु जीवित हुँदासम्म दुनियाँको कुनै तागतले पनि संविधान संशोधन गर्न नसक्ने दाबी गर्नुभयो । अध्यक्ष दाहालले माओवादी केन्द्रलाई कसैले फुटाउन नसक्ने बताउनुभयो । उहाँले फुटेर गएका माओवादी शक्तिहरुपनि एकतावद्ध हुने प्रक्रियामा रहेको उल्लेख गर्दै छिट्टै एकतावद्ध भइसक्ने बताउनुभयो ।

अध्यक्ष दाहालले जनताको घर–आँगनमा गए २०६४ सालको जस्तै मत ल्याउन सकिने भन्दै आगामी निर्वाचनमा माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउनेगरी लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।