
काठमाडौँ । सङ्घीय संसद्का विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।
संघीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ ।
त्यस्तै बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक सिंहदरबारमा बस्दैछ । बैठकमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरोन्नतिले नेपाललाई पार्ने प्रभाव÷असर, चुनौती प्राप्त हुने अवसर एवं यस सम्बन्धमा नेपाल सरकारबाट भएका काम कारवाही र प्रगतिको अवस्थाका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ११ बजेनै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौँ वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ ।
त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहान ११ बजे बस्ने बैठकमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ्ग गुठीको जग्गाजमिनको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आयआर्जन र भेटी व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्