
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनुपर्ने बताउनुभएको छ ।
आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सरकार निजी क्षेत्रका समस्या सुन्ने र समाधान गर्न क्रियाशील रहेका दृष्टान्त दिंदै अब पनि गुनासै मात्र गरिरहन उचित नहुने उल्लेख गर्नुभएको हो । निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिन आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले संसदमा विचाराधीन कानुनको बारेमा समितिमा निजी क्षेत्रसँग एक पटक छलफल गरेर मात्र कानुन निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षबाटै नेपालको अर्थतन्त्र नयाँ किसिमबाट चलायमान हुने दाबी गर्नुभयो । उहाँले आर्थिक क्रियाकलाप अघि बढाउन निजी क्षेत्रको मनोबललाई उच्च राख्न प्रशस्त मात्रामा आधारशिला खडा भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले राजधानीमा भएको अटो शो प्रदर्शनी, शेयर बजार, राजस्व संकलनदेखि कर्जा प्रवाह समेतले अर्थतन्त्र चलायमान हुन थालेको तर्क गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्