
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमहरु आर्थिक रुपमा आफैँ सक्षम हुनुपर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि भएको छलफलका क्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
सञ्चारमन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चारमाध्यमहरु विगतमा जनताको सेवाको लागि मात्रै स्थापना गरिएको भन्दै उहाँले बदलिदो परिवेश अनुसार यि संस्थाहरुले अब आर्थिक आयआर्जन पनि गर्नुपर्ने बताउनुभयो । उहाँले यि संस्थाहरु राम्रो सेवा पनि दिन नसक्ने र प्रतिस्पर्धामा पनि जान नसक्ने अवस्थामा रहेका भन्दै यिनीहरुको पुर्नसंरचना गर्नुपर्ने बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले जनतालाई सेवा दिनुका साथै प्रतिष्पर्धि हुनुपर्नेमा पनि जोड दिनुभयो । सरकारी सञ्चारमाध्यमहरुले राजस्व वृद्धि गर्नुपर्ने उहाँको भनाई छ । उहाँले आफूले सरकारी सञ्चारमाध्यमहरुलाई आफैँ कमाएर खानका लागि निर्देशन समेत दिइसकेको बताउनुभयो । उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सेतो हात्ति पाले जसरी पाल्न नसकिने भन्दै आवश्यक संरचना मात्रै राखिने बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले राज्यको सूचना प्रवाह गर्ने रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता संस्थालाई बलियो बनाउन सकेमात्रै राज्य बलियो हुने बताउनुभयो । उहाँले संगठन र राज्यलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्