
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दुग्ध किसानलाई ३९ करोड रुपैयाँ बराबरको भुक्तानी दिएको छ ।
रामनाथ अधिकारी कृषिमन्त्री बनेपछि मन्त्रालयका सहसचिव सूर्य पौडेललाई डीडीसीको जिम्मेवारीमा पठाएपछि डीडीसीसँग रहेको मखन, पाउडर दूधलगायत बिक्री गरी ३९ करोड बढी आम्दानी गरेर किसानलाई भुक्तानी दिइएको कृषि मन्त्रीको सचिवालयले जनाएको छ । गत असार ३१ सम्ममा दूग्ध किसानको बक्यौता १ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।
यसैबीच, अर्थ मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) लाई शर्तसहित ६० करोड रुपैयाँ ऋण दिन सहमति दिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री अधिकारीले दुग्ध किसानहरूको बक्यौता भुक्तानीका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग गरेको पहलपछि अर्थ मन्त्रालय शर्तसहित रकम दिन तयार भएको हो । सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थ मन्त्रालयले सहमति दिएको छ ।
डीडीसीले सो रकम तत्काल किसानले दूध बेचे वापत पाउन बाँकी रकम भुक्तानीका लागि प्रयोग गर्नु पर्नेछ । चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न सहमति दिइएको अर्थले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्