
काठकाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदुत सिफारिस समावेशी नभएकोमा माफी माग्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा राजदुत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी माग्नुभएको हो ।
राजदुत नियुक्ति जति समावेशी हुनुपर्ने हो, त्यो नभएकोमा आफूले माफी माग्न चाहेको परराष्ट्रमन्त्री देउवाको भनाई थियो । उहाँले एउटा राजदुत पद खाली भएको र त्यसमा मधेशी समुदायलाई प्रतिनिधित्व गराउने विषयमा आफूले प्रयास गरिरहेको पनि बताउनु भयो ।
सरकारले दलित र मुस्लिम समुदायलाई राजदुतमा सिफारिस गर्न चाहे पनि त्यसका लागि प्रश्तावित उम्मेदवारको रुपमा कोहीले पनि दाबी नगरेको पनि परराष्ट्रमन्त्री देउवाले संसदीय समितिलाई जानकारी दिनुभयो । उहाँले सरकारले प्रस्ताव गरेका १७ देशका राजदुत राम्रो रहेको र उनीहरुले देशको प्रतिनिधित्व राम्रोसँग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री राणाले भन्नुुभयो,‘राजदुत सिफारिसको बारेमा म पनि यो एकनलेज गर्छु कि जति हुनुपर्ने समावेशी, त्यो भएको छैन । र हामी यसलाई कसरी गर्ने भनेर मधेसको नै कोही अझ एउटा ठाउँ खोली छ । त्यसमा हामी ल्याउन ट्राई गरिराखेका छौं । र दलित समुदायको कोही क्यान्डिडेटको कुरा पनि नआएको र नेक्स्ट नियुक्तीहरुमा दलित प्लस मुस्लिम यो दुई वटा क्याटोगरीबाट कोही पनि अहिलेसम्म नआएकोमा पनि सरी । तर जति जनाको पनि सिफारिस भएको छ । यो राम्रैसँग हेरेर नै सिफारिस भएको जस्तो मलाई लागेको छ ।
परराष्ट्रमन्त्री राणाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कुटनीतिक नियोग तथा नियोग प्रमुखहरुलाई परिचालन गर्ने विषयमा सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । उहाँले संविधानको मर्म र राजदुत नियुक्तिको सम्बन्धि निर्देशिकालाई मुल आधार बनाई राजदुतहरुको नियुक्तिको लागि थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्य सम्पादनमा आधारित बनाउन सरकार अधिकतम प्रयासरत रहेको समेत बताउनुभयो ।
बैठकमा सांसदहरुले राजदुत नियुक्ति समावेश नभएको भन्दै त्यसलाई आगामी दिनमा सच्याउन अघि बढन परराष्ट्रमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्