
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० लाई लैङ्गिक समानता बनाउनुपर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० संशोधन प्रस्ताव पेस गर्दै सांसद कार्कीले विधेयकमा परिवारका सदस्य भनेर गरेको परिभाषामा लैङ्गिक समानता नभएको बताउनुभयो ।
सांसद कार्कीले विधेयकमा परिवारको सदस्य भन्नाले बैंक वा वित्तीय संस्थाको संस्थापक,सञ्चालक प्रचलित कानून बमोजिम वित्तीय स्वास्थ मानिने शेयर धनी, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी म्यानेजिङ एजेन्ट वा सम्बिन्धि व्यक्तिको संगोलमा रहेका पति पत्नी, छोरा छोरी धर्मपुत्र, धर्मपुत्री, बाबु आमा सौतिनी आमा मात्रै राखिएको भन्दै त्यसमा सौतेलो बाबु पनि थप्नुपर्ने बताउनुभयो । उहाँले मुल ऐनको दफा ९ मा बैंकिङ स्रोत साधन र सम्पतीको दुरुपयोग गर्न नहुने व्यवस्था रहेको बताउनुभयो ।
सांसद कार्कीले विधेयकमा कुनैपनि महिलाले दोस्रो विवाह गर्न सक्छिन् भन्ने परिकल्पना नगरेको बताउनुभयो । उहाँले सरकारले कानूनहरु बनाउँदै गर्दा ऐन लैङ्गिक रुपले तटस्थ रहनुपर्नेमा जोड दिनुभयो । उहाँले विधेयकमा कुनैपनि संस्थाको सर्वोच्च पदमा पुरुष मात्रै हुनसक्ने र पुरुषको मात्रै दोस्रो श्रीमती हुनसक्ने किसिमको परिकल्पना गर्नु लैङ्गिक विभेद भएको बताउनुभयो । उहाँले सहकारीसँग सम्बन्धि समस्याहरु धेरै आएकाले सहकारी पीडितले भुक्तानी पाउने सुनिश्चिता र बैंकलाई पारदर्शी बनाउने गरी ऐन ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले चेक अनादरको मुद्दामा मिलान गर्ने समय पनि एक वर्ष राख्नुपर्ने बताउनुभयो । उहाँले चेक वालाले आधा रकम तत्काल दिने र बाँकी रकम एक वर्षमा दिने विश्वास दिलाउँदा समन्वयन गर्ने खुकुलो नीति लिनुपर्ने बताउनुभयो । उहाँले सहकारी ठगीबाट भुक्तानी दिनुपर्ने धेरै मानिसहरु विदेश पलायन हुने अवस्था सिर्जना भएको बताउनुभयो ।
सांसद पौडेलले विधेयकमा विद्युतीय चेकलाई पनि विधेयकले समावेश गराउनुपर्ने बताउनुभयो । उहाँले चेक अनादर भएको मितिले तीन महिनाभित्र अदालत वा प्रहरी एउटा निकायमा मुद्दा गर्दा गर्न पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्