
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।
सोमवार मन्त्रालयमा नेकपा एमालेको शहरी विकास हेर्ने विभागको तर्फबाट नेता शेरबहादुर तामाङ नेतृत्वले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उपप्रधानमन्त्री सिंहले जनतालाई सन्तोष पार्न सरकारले आवश्यक पहलकदमी लिइरहेको बताउनुभयो । ऐनहरुको अभावका कारण शहरी विकासलाई व्यवस्थित गर्न नसकिएको भन्दै अहिले सरकारले पुराना ऐनहरुको संशोधन गरी नयाँ ऐन बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले आफू मन्त्री बनेर आइसकेपछि सबैभन्दा बढी जोड विकास निर्माणका कामहरु र नीति बनाउने कामलाई दिएको स्पष्ट पार्नुभयो । उहाँले नीति निर्माण र कार्यान्वयनमा सबैले सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो ।
‘मन्त्रीपरिषद्मा लगेर, संसदमा लगेर ऐन बनाउने कुरामा मैले जोड दिइरहेको छु । मलाई विश्वास छ, तपाईंहरुको त्यसमा पूरा सहयोग रहनेछ । अहिले सरकार नेपाली काँग्रेस र नेकपा एमालेकै हो । भनेपछि हामीले जनतालाई सन्तोष पार्न के गर्नुपर्छ, त्यसमा हामी लाग्नुपर्छ ।’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
उपप्रधानमन्त्री सिंहले गाउँपालिका वा नगरपालिकाभित्र बस्ने मानिसहरुको जीवन सहज हुनुपर्ने र त्यसका लागि शहरहरु विकास गर्दा सुविधायुक्त गाउँ र शहर बनाउनुपर्ने बताउनुभयो । उहाँले अत्यावश्यक भौतिक पूर्वाधारहरु गाउँगाउँमै पु¥याउनुपर्नेमा सरकार लागिरहेको बताउनुभयो । नेकपा एमालेको शहरी विकास विभागले शहर व्यवस्थ्ति बनाउने सुझावसहितको ज्ञापन पत्र उपप्रधानमन्त्री सिंहलाई बुझाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्