
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले यही भाद्र १३ गते पाँचथरमा बेवारिसे बम विष्फोटमा एकै घरका २ जना बालबालिकाको ज्यान गएको र २ जना घाईते भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल जानकारी गराउन गृहमन्त्री रमेश लेखकसँग माग गर्नुभएको हो ।
प्रमुख सचेतक बर्तौलाले सो बेवारिसे बम तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला बेवारिसे अवस्थामा छोडिएको कुरा विभिन्न समाचार माध्याममा आएको उल्लेख गर्दै त्यसबारे सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने जिकिर समेत गर्नुभयो । उहाँले यस्ता बेवारिसे बम विष्फोटको घटनालाई सरकारले गम्भिरतापूर्वक लिई अनुसन्धानको कामलाई तिब्रता दिनुपर्ने बताउनुभयो ।
प्रमुख सचेतक बर्तौलाले तत्कालीन विद्रोही पक्ष माओवादीले देशका कुनकुन ठाउँमा बेवारिसे अवस्थामा त्यस्ता बमहरु राखेको छन् ? भन्ने कुराको खोजीमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्