
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा क्रान्ति गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले राजनीतिक उथलपुथल र परिवर्तन धेरै भएपनि कृषिमा क्रान्ति गर्न नसकिएको भन्दै सरकारले अहिले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
कृषिमन्त्री अधिकारीले कृषि विकासमा कमजोर महशुस गरिरहेको बताउनुभयो । उहाँले किसानहरुले कृषि उत्पादन सामग्री समयमा पाउन नसक्ने अवस्थालाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । कृषि शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन आवश्यक रहेको बताउनुभयो ।
कृषिमन्त्री अधिकारीले कृषिलाई व्यवसायिकरण गर्न र किसानको कृषि पेशालाई मर्यादित बनाउन धेरै कामहरु गर्न बाँकी रहेको बताउनुभयो । उहाँले कृषि उत्पादनलाई उद्योगसँग जोड्न थप प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कृषिमन्त्री अधिकारीले जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई न्युनिकरण गर्न र अनुकुलित कृषि खोतीका लागि नविनतम प्रविधिको विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा रहेको लगानीको अपर्याप्ततालाई पूरा गर्न कृषि क्षेत्रमा निजी क्षेत्रको लगानीलाई समेत प्रोत्साहन गर्नेगरी व्यवसायीकरण र औद्योगिकरणको आधारशिलाको रुपमा तयार गर्न कृषिमा लगानी दशक घोषणा गरेको बताउनु भयो ।
कृषिमन्त्री अधिकारीले तल्लो तहको किसानसँग कसरी पुग्ने भन्नेबारेमा आफूहरु गम्भीर रहेको बताउनुभयो । कृषि क्षेत्रका समस्या समाधान गर्न कृषि खाद्य प्रणालीको रुपान्तरण गर्न यथेष्ठ काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्