२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अमेरिकाका लागि प्रस्तावित राजदुत रेग्मीको योजना – अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने


364
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदुत लोकदर्शन रेग्मीले आफू राजदुत नियुक्त भएमा नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन पहल गर्ने बताउनुभएको छ ।

बिहीबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदुत रेग्मीले नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमणका लागि पहल गर्ने बताउनुभएको हो ।

प्रस्तावित राजदुत रेग्मीले द्विपक्षिय सम्बन्धलाई राम्रो बनाउनका लागि उच्च तहको राजनीतिक भ्रमणको आदान–प्रदान आवश्यक रहेको भन्दै त्यसका निम्ति आफूले काम गर्ने बताउनुभयो । उहाँले हालसम्म नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण नभएको अवस्थामा भ्रमण गराएर नेपालको संसदमा सम्बोधन गराउन सकिएमा नेपालको छवि, विश्वसनीयता र समृद्धिको ढोका खोल्न योगदान पुग्ने बताउनुभयो ।

प्रस्तावित राजदुत रेग्मीले विगतमा भएका प्रतिवद्धताहरु नविकरणका लागि र द्विपक्षिय हितका नयाँ विषयहरु अगाडि बढाउन पनि भ्रमणको महत्व रहेको उल्लेख गर्नुभयो । उहाँले आफूले आर्थिक कुटनीतिमा पनि ध्यान पु¥याउने बताउनुभयो । उहाँले अमेरिकी अर्थतन्त्रलाई नेपालको हितमा अधिकतम प्रयोग गर्नका लागि आफूलाई केन्द्रित गर्ने बताउनुभयो । उहाँले दुई देशबीच संसदीय तहमा पनि भ्रमण–आदान प्रदान गराउन पहल गर्ने बताउनुभयो ।

प्रस्तावित राजदुत रेग्मीले अमेरिकास्थित नेपाली राजदूताबासलाई ‘स्मार्ट राजदूतावास’ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । दुतावासको क्षमता विकास गर्दै रेकर्ड सिस्टमलाई व्यवस्थित बनाउने बताउनुभयो । उहाँले गैर आवासिय नेपालीहरुको हितमा खटेर काम गर्ने बताउनुभयो ।