
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताउनुभएको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा सभापति देउवाले यस्तो बताउनुभएको हो ।
नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै सभापति देउवाले दुई ठूला राजनीतिक दल मिलेपछि अरु पार्टीलाई सिध्याउने हुन् की भन्ने भय पालेर नराख्न आग्रह गर्नुभयो । उहाँले कुनैपनि पार्टीलाई सिध्याउने र कमजोर पार्ने नीति कांग्रेस र एमालेको नभएको बताउनु भयो ।
सभापति देउवाले सबैलाई मिलाएर अघि बढाउन आफूहरुले चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो समय पार्टी परित्याग गरेकाहरु पनि पार्टीमा पुनः फर्किने क्रम जारी रहेको भन्दै अझ बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले काँग्रेसलाई कमजोर बनाउनेहरु नेपालमा रहेको भन्दै सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्ने बताउनुभयो ।
सभापति देउवाले आफूले अब सबैकुराबाट सन्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरुले लिनुपर्ने बताउनुभयो ।
सभापति देउवाले भोलिका दिनहरु चुनौतिपूर्ण र महत्वपूर्ण अवसरका रुपमा रहेको भन्दै दुवैलाई मिलाएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले अब पार्टीको नेतृत्व लिने नेताहरुलाई काम गरेर देखाउन पनि चुनौति दिनुभयो । उहाँले कांग्रेस र एमालेको सरकार बनेपछि देशभर उत्साह पैदा भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्