
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रको मुलधार माओवादी आन्दोलन भएको बताउनुभएको छ ।
बिहीबार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो दाबी गर्नुभएको हो ।
अध्यक्ष दाहालले माओवादी आन्दोलन वा नेकपा माओवादी मुलधारमा आएपछि भन्ने शब्द प्रयोग भएको भन्दै माओवादी मुलधारमा आएको हो वा माओवादीले मुलधार क्रिएट गरेको हो भन्नेकुरा राजनीतिक बहसको विषय रहेको बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको मुलधार माओवादी भएको बताउनुभयो ।
अध्यक्ष दाहालले गणतन्त्रको घोषणासँगै देशको सबैभन्दा ठूलो पार्टी पनि माओवादी भएको स्मरण गर्नुभयो । माओवादीको गणतन्त्रात्मक मुलधारमा अन्य दल आएका हुन् की माओवादी संवैधानिक राजतन्त्रको मुलधारमा गएको हो भन्ने विवाद वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा अहिले पनि रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले जनयुद्धको विषयलाई लिएर माओवादीले बनाएका बनाएका चलचित्र र टेलिफिल्म जनतामा स्थापित हुन नसकेको बताउनुभयो । उहाँले माओवादी नभएकाले बनाउन लागेको सो टेलिश्रृंखला जनताले हेर्ने विश्वास गर्नुभयो । उहाँले पृथ्वीनारायण शाहपछि आम नेपाली जनताको सबैभन्दा ठूलो उपस्थिति भएको आन्दोलन माओवादी आन्दोलन नै भएको जिकिरसमेत गर्नुभयो । उहाँले युरोपतिर भएको भए माओवादी आन्दोलनले नोबेल पुरस्कार पाउने विषय भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्