२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ : रवि लामिछाने


2.379k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गर्नुभएको छ ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो ।

सभापति लामिछानेले वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुई भन्दा बढी पार्टीहरु मिल्नुको विकल्प नभएको बताउनु भयो । उहाँले अहिलेको सरकार दुई तिहाईको भनिए पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमा ढल्ने अवस्था रहेको बताउनुभयो ।

सभापति लामिछानेले संविधानले व्यवस्था गरेको शासकीय स्वरुपमा नै अस्थिरता रहेको बताउनुभयो । उहाँले रास्वपाले शासकीय स्वरुपमा निर्वाचित प्रधानमन्त्री बनाएर विधायकी सांसद बनाउनुपर्ने बताएको उल्लेख गर्नुभयो । उहाँले प्रत्यक्ष प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रीमण्डल बनाउन पाउने शासकीय स्वरुप बनाउनु अहिलेको अवश्यकता भएको उल्लेख गर्नुभयो ।

सभापति लामिछानेले दुई तिहाईको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने पनि त्यस्तो नदेखिएको बताउनुभयो । उहाँले दुई तिहाइको सरकारका प्रधानमन्त्री र मन्त्रीहरुमा आत्मविश्वास नदेखिएको बताउनुभयो । उहाँले सरकारको आत्मबल नहुँदा टिसर्ट लगाएको,बोलेकको आधारमा समाउने काम गरेर बसेको बताउनुभयो । उहाँले दुई तिहाईको सरकार उपसभामुखलाई हटाउने लगायतका चलखेलमा लाग्नु जाहेज नभएको बताउनुभयो ।

सभापति लामिछानेले दुई तिहाईको सरकारको कुनै प्राथमिकता नभएको बताउनुभयो । उहाँले वर्तमान सरकारले संविधान संशोधन गर्ने भन्ने नाममा आफ्नो राजनीतिक स्वार्थको सौदाबाजी गर्न खाजेको भन्दै संविधानलाई सौदाबाजी गर्नु राम्रो नभएको बताउनुभयो ।