
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पेरिस पारालिम्पिककी काँस्य पदक विजेता पलेशा गोवद्र्धन र एशियन गेम्सकी रजत पदक विजेता एरिकाले आगामी दिनमा स्वर्ण जित्ने विश्वास व्यक्त गर्नुभएको छ ।
हेटौँडामा भएको पलेशा र एरिकालाई सम्मान तथा पुरस्कार घोषणा कार्यक्रममा उनीहरूको प्रशंसा गर्दै मुख्यमन्त्री लामाले आगामी दिनमा स्वर्ण जित्ने आशा व्यक्त गर्नुभएको हो ।
सो अवसरमा मुख्यमन्त्री लामाले राष्ट्रको पहिचान गराउने सबैभन्दा ठूलो माध्यम खेलकुद भएपनि राज्य आवश्यक लगानी गर्न नसकेको बताउनुभयो । तर आफ्नो सरकारले खेलकुद क्षेत्रमा लगानी र प्रोत्साहन गर्ने आश्वासन दिनुभयो ।
उक्त कार्यक्रममा मुख्यमन्त्री लामाले अहिले केही प्रक्रिया निमिल्ने भएकाले खेलाडीलाई नगद दिन नसके पनि तीन महिनाभित्र खेलाडीले पुरस्कार रकम पाउने घोषणा गर्नुभयो ।
सो कार्यक्रममा पलेशाले शुरुवाती चरणमा सहयोग नहुँदा यो पदक ल्याउन धेरै कठिन भएपनि अहिले देशभर पारा तेक्वान्दोसँगै पारा खेलकुदका बारे सबैलाई थाहा भएको बताउनु भयो । आउने दिनमा सबैको साथ सहयोग भए पाराले मात्र नभए सबैले नेपालका लागि इतिहास बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । सबैले आफूमा विश्वास राखे नयाँ उदाहरण कायम गर्नसक्ने उल्लेख गर्नुभयो ।
पेरिस पारालिम्पिक्समा ऐतिहासिक काँस्य विजेता पलेशा गोवद्र्धन र एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई वागमती सरकारले आज नगदसहित सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्