९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


काठमाडौं म्याराथनको १६औं संस्करण असोज १२ मा हुने


0
Shares

काठमाडौं । काठमाडौं म्याराथनको १६औं संस्करण यही असोज १२ गते हुने भएको छ ।

काठमाडौं म्याराथन आयोजक कमिटीले जनाएअनुसार काठमाडौं म्याराथनमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजारभन्दा बढी सहभागी हुनेछन् ।

काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले प्रतियोगिताका लागि एक सय ७० धावकले नाम दर्ता गराइसकेको बताउनुभयो । हाफ म्याराथनमा भने अहिलेसम्म पाँच सय ५० धावक सहभागी हुने टुङ्गो लागेको उहाँले जानकारी दिनुभयो ।

यस्तै सरकारी र निजीतर्फका ६० भन्दा बढी विद्यालयका छात्र छात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुला दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ । म्याराथन र हाफ म्याराथन दुवैमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुने पनि आयोजकले बताएका छन् ।

दौडमा चार सयभन्दा बढी स्वंयसेवक तथा टेक्निकल अफिसियलको सहभागिता रहनेछ भने उक्त दिन ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग छलफल भइरहेको पनि आयोजकले जनाएको छ ।