
काठमाडौं । सांसदहरुले जनगणनामा कोही पनि नछुटून भन्नेकुरामा सचेत हुन सरकारलाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद जावेदा खातुन जागा, नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले जनगणनालाई तथ्यपरक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेस सांसद खातुनले जनगणनामा कोही पनि नछुटुन् भन्ने कुरामा सरकार गम्भिर नबन्दा धेरै नागरिकहरुले आफ्नो उपस्थिति राज्यमा देखाउन सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले मुस्लिम समुदायको समेत गणना तथ्यपरक नभएको जिकीर गर्दै त्यसतर्फ सरकारलाई ध्यान दिन पनि आग्रह गर्नुभयो ।
जनगणना तथ्यपरक नहुँदा पछाडि परेका विभिन्न जाति र समुदायका नागरिकहरुले राज्यले दिने अवसरबाट समेत वञ्चित हुनुपरेको सांसद खातुनको भनाई थियो ।
एमालेका सांसद रिजालले विपद्मा परेका बस्तीहरुको तथ्यांक ल्याउन सरकारलाई दबाब दिनुभयो । उहाँले जलवायु परिवर्तनका कारण बस्तीमा जोखिममा पर्ने गरेकाले उनीहरुको सुरक्षाका लागि पनि सरकारले ती ठाउँहरुको गणना गर्न ढिलाई गर्न नहुने बताउनुभयो ।
सांसद रिजालले नागरिकको पहिचान गर्ने र उनीहरुको आवश्यक्तालाई सम्बोधन गर्ने नीति, कार्यक्रम र बजेट तय गर्न पनि जनगणनालाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सांसद रिजालले विभिन्न सीप, कला जानेहरुलाई पनि साक्षरता भनेर दर्ज गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्