५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव


663
Shares

काठमाडौं । नेपालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकहरुको अभाव रहेको पाइएको छ ।

बालबालिकामा हुने क्यान्सर रोगीहरुको संख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरु भने पर्याप्त नभएको डा. सनी सिपाईंले बताउनुभएको हो ।

कान्ति बाल अस्पतालमा कार्यरत डा. सिपाईंले बालबालिकामा हुने क्यान्सर रोग उपचारका लागि चिकित्सकहरुको नै अभाव रहेको बताउनुभयो । उहाँले कान्ति बाल अस्पतालमा पनि आफूसहित २ जना चिकित्सकको भरमा उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो । चिकित्सक सिपाईंले सरकारले क्यान्सर अस्पतालहरुको स्तरोन्नति गरेर यसको जाँचका लागि बाहिरको भर पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।

बालिबालिकाहरुमा धेरैजसो ब्लड क्यान्सर देखिएको विभिन्न अध्ययनहरुले देखाएको छ । करिब ६० प्रतिशत भन्दा बढी बालबालिकाहरुमा ब्लड क्यान्सर देखिएको चिकित्सक सिपाईंको भनाई छ । उहाँले त्यसैगरी उनीहरुको बे्रने टयुमर, आँखा, नसा र मृर्गौलामा हुने क्यान्सर पनि क्रमशः देखिएको उपचारको क्रममा पाइएको पनि बताउनुभयो ।

नेपालमा वार्षिक करिब १५ सयसम्म बालिबालिकाहरुमा क्यान्सर देखिने प्रक्षेपण छ । त्यही प्रक्षेपणको आधारमा सो रोगका लागि उपचारको व्यवस्था मिलाउने काम गरिएको छ । कान्ति बाल अस्पतालमा मात्रै सो रोग लागेका बालबालिकाहरु वार्षिक रुपमा करिब १६० देखि २ सयसम्म आउने गरेको अस्पतालले जनाएको छ ।

चिकित्सकहरुले सो रोगको उपचारका लागि नेपालमा करिव ८ लाख रुपैयाँसम्म खर्च हुने जानकारी गराएका छन् । चिकित्सक सिपाईंका अनुसार परीक्षणको लागि खासगरी भारत पठाउनुपर्ने भएकाले उपचार खर्च बढ्न सक्नेछ ।