५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा ५ जना पक्राउ


676
Shares

काठमाडौं । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार धादिङ नेत्रावती गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१० मनमैजु बस्ने ३१ वर्षीय मदनबहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाडौं महानगरपालिका–६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दी शेर्पालाई पक्राउ गरिएको हो ।

केही दिन अघि पक्राउ गरिएका जुवासम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा पक्राउ परेका चीनको स्वशासित क्षेत्र तिब्बतका सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी भएको नागरिकता प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता संकास्पद देखिएको थियो । उक्त नागरिकता छिरिङ ढुन्डुपले ४ लाख रुपैयामा बनाइदिएको खुल्न आएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्त छिरिङ ढुन्डुपसहित ५ जनालाई पक्राउ गरेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिनुभयो ।