
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि देशका ५६ वटा जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।
जल तथा मौस विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखले बुधबार बुलेटिन जारी गर्दै बिहीबारदेखि आगामी आइतबारसम्म ५६ वटा जिल्लामा भारी वर्षाको सम्भावना रहेको बताएको हो ।
बंगालको खाडी र अरब सागरबाट उठेको उच्च जलवाष्पयुक्त वायु नेपालतर्फ आईरहेका भन्दै महाशाखाले मध्यमदेखि भारी वर्षाको संभावना रहेको जनाएको हो । असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ आइतबारसम्म देशभर साधारणदेखि पूर्णतः बदली हुने र अधिकांश स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम तथा भारी वर्षा हुने जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको चेतावनी पनि महाशाखाले दिएको छ । आगामी शनिबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले उक्त दिन बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
साथै लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै महाशाखाले लगातारको वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको पनि जनाएको छ । तराइका जिल्लाहरुमा डुबान हुनसक्ने भन्दै उच्च सतर्कताका लागि अनुरोध पनि गरिएको छ । यसरी भारी वर्षा हुनसक्ने जिल्लाहरुमा कोशी प्रदेशका ११, मधेस प्रदेशका तीन, बाग्मती प्रदेशका काठमाडौंसहित १२, गण्डकी प्रदेशका १०, लुम्बिनीका १२, कर्णालीका ५, सुदूरपश्चिमका ३ जिल्ला रहेको महाशाखाले जनाएको छ ।
१९ जिल्ला मध्यम जोखिममा रहेको र ती मध्ये मुगु र हुम्लामा न्युन जोखिम रहेको पनि महाशाखाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्