२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


शुक्रबार र शनिबार रात्री बस नचलाउन आग्रह


910
Shares

काठमाडौं । सरकारले शुक्रबार र शनिबार पहाडी र हिमाली जिल्लामा रात्री बस नचलाउन आग्रह गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमान्ड पोस्टको बैठकले आजदेखि आइतवारसम्म ५६ वटा जिल्लामा ठूलो र अति ठूलो पानी पर्ने देखिएको भन्दै पहाडी र हिमाली जिल्लामा रात्रि बस नचलाउन आग्रह गरेको हो ।

रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा बस नचलाउन प्राधिकरणले आग्रह गरेको हो । यस्तै धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँ तलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका ठाउँ र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन पनि भनिएको छ ।

यसैगरी बाढीमा दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि आग्रह गरिएको छ । खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकाय एवम् स्वयंसेवकहरू तयारी अवस्थामा राख्न, आइतवारसम्म अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही ’अलर्ट’ मा रहन पनि आग्रह गरिएको छ ।