२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारले हवाई भाडा नियन्त्रण गर्छ : मन्त्री दाहाल


520
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताउनुभएको छ ।

दशैंजस्ता चाडपर्वका बेला अत्याधिक मात्रामा हवाई भाडा वृद्धि गरिएको उल्लेख गर्दै मन्त्री दाहालले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो ।

सोमबार काठमाडौंमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले सो भाडादर नबढाउनका लागि आफूहरुले नागरिक उड्डयनका क्षेत्रका व्यवसायीहरुसँग कुरा गरिरहेको समेत बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हाललाई सो भाडा वृद्धि नगर्न सम्बन्धित व्यवसायीहरुलाई अनुरोध गरेको स्मरण गराउदै त्यस अनुसार काम नभए सरकारले त्यसको नियमनको कामलाई कडाई गर्ने मन्त्री दाहालले बताउनु भयो ।

मन्त्री दाहालले बाढी, पहिरो र डुबानका कारण सिंगो मुलुक दुःखमा परेको उल्लेख गर्दै पीडितलाई राहत दिने, घाइतेहरुको उपचार गर्ने र क्षति भएका भौतिक पूर्वाधार निर्माणको काममा सरकार लागि परेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मात्रै विपद्का कारण करिब २५ अर्ब, २५ करोड क्षति भएको अनुमानित आँकडा प्रश्तुत समेत गर्नुभयो ।

मन्त्री दाहालले मुलुकले भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो नोक्शानी व्यहोर्नु परेको भन्दै पुनर्निर्माणको कामलाई तिब्रता दिने बताउनुभयो ।