२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या दुई सय चार पुग्यो


702
Shares

काठमाडौं । गत शुक्रबार र शनिबार परेको भीषण वर्षाका कारण निम्तिएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या दुई सय नाघेको छ ।

अहिलेसम्म दुई सय चार जनाको मृत्यु पुष्टि भएको सशस्त्र प्रहरी बलले जनाएको छ । यस्तै ३३ जना अझै वेपत्ता छन् भने सय जना बढी घाइते भएका छन् । सशस्त्र प्रहरी बलले अहिलेसम्म तीन हजार चार सय जनाको सकुशल उद्धार गरिएको पनि जनाएको छ । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।

त्यस मध्ये काठमाडौंमा ५२ जना, ललितपुरमा २५ जना र भक्तपुरमा ५ जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ । उपत्यकापछि काभ्रेमा ५९ जनाको मृत्यु भएको पुष्टि भएको छ । उता, सिन्धुपाल्चोकमा १३ जनाको मृत्यु भएको छ भने मकवानपुर र दोलखामा ७÷७ जनाको मृत्यु भएको पुष्टि सशस्त्र प्रहरीले गरेको छ । यस्तै कोशी प्रदेशमा २३ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको छ ।

भौतिक क्षतितर्फ कोशी प्रदेशमा १४ वटा र बाग्मती प्रदेशमा ५ वटा गरी १९ वटा पुल बाढीले बगाएको छ । कोशी प्रदेशमा ६९० वटा घरमा क्षति पुग्दा बाग्मती प्रदेशमा सवैभन्दा धेरै एक हजार २१ वटा घरमा क्षति पुगेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मानवीय वा भौतिक कुनै पनि क्षति नभएको पनि सशस्त्र प्रहरी बलले जनाएको छ ।