२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुकिला नोट व्यवस्थापन गर्न दशैँमा नयाँ नोट ल्याएनौँ : राष्ट्रबैंक


416
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नका लागि दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने व्यवस्था गरेको बताएको छ ।

आइतवारदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखलले विगतका दशैंमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभइ बैंकमा भएका सुकिला नोट व्यवस्थापनका लागि उक्त व्यवस्था गरिएको बताउनुभयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पोखरलले यो वर्षको दशैँमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको बताउनु भएको हो । उहाँले राष्ट्र बैंकका साथै बैंकहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा सुकिला नोटहरु प्रशस्त रहेको र राष्ट्र बैंकले व्यवस्थापन गर्नुपर्ने भएकाले दशैंमा नोट व्यवस्थापन गर्न नयाँ नोट बजारमा नल्याएको उल्लेख गर्नुभयो ।

राष्ट्र बैंकसँग तथा बैकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला, चलनचल्तीमा प्रयोग गर्न योग्य नोट साट्ने बताउनुभयो । उहाँले सुकिला नोट व्यवस्थापनमा समस्या रहेको भन्दै दशैंको अवसरमा व्यवस्थापन गर्ने उद्देश्यले नयाँ नोट बजारमा नल्याएको बताउनुभयो । उहाँले नयाँ नोट छपाई नेपालमा नहुने र विदेशी मुद्रा तिरेर नयाँ नोट छपाइ गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै छपाइको लागत कम गर्ने उद्देश्यले यो वर्षदेखि सफा नोट प्रयोगमा ल्याएको बताउनुभयो । उहाँले पुराना नोट प्रयोग गर्न अयोग्य भएपछि नयाँ नोट बजारमा आउने बताउनुभयो ।

सहायक प्रवक्ता पोखरलले अब परम्परा जस्तै रहेको दशैंमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै मानिसहरुलाई बाहिर ल्याउन खोजिएको बताउनुभयो । उहाँले बजारको आवश्यकता अनुसार राष्ट्र बैंकले नयाँ नोट छपाइ र सटही गर्दैै जाने बताउनुभयो । उहाँले आम नागरिकले दशैंको समयमा नयाँ नोट बजारमा ल्याउँदा नोटको हिफाजत नगरेको भन्दै पैसालाई जतन गर्न आग्रह गर्नुभयो ।

पोखरलले भन्नुभयो, ‘अब दशैंमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै हामी बाहिर जानुपर्छ । आवश्यकताअनुसार राष्ट्र बैंकले नयाँ नोट छपाइ र सटही गर्दैै जान्छ । दशैंको समयमा नयाँ नोट बजारमा ल्याउँदा नोटको हिफाजत नहुने देखिएको छ ।’

सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको छ । —न्युज एजेन्सी नेपाल