
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदबाट धेरै क्षति हुन नदिन पूर्वतयारीलाई जोड दिनुपर्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
स्वास्थ्यमन्त्री पौडेलले अहिले विपदबाट ज्यान गुमाएकाहरुको दुःखमा सरकारले शोक घोषणा गरेको बताउँदै देशलाई ठूलो जनधनको क्षति भएको बताउनुभयो । उहाँले सवा २१५ जना भन्दा बढी हालैको विपद्जन्य घटनाहरुबाट नेपालीहरुले ज्यान गुमाएकोप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार र राहतमा सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले विपद् खबर गरेर नआउने भन्दै पहिलैबाट पूर्वतयारी गर्नुपर्ने बताउनुभयो । पूर्वतयारी राम्रो भए क्षति कम गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले अहिले संघीयताको अभ्यासका क्रममा रहेको भन्दै तीन तहकै सरकारबीच समन्वय गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशमा पनि राम्रा र ठूला अस्पतालहरु रहेको भन्दै तीन तहका सरकारको समन्वयबाट विपद् प्रभावितहरुको उपचारलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो । राहत उद्धार र विपद्पछिको स्वास्थ्यमा हुने समस्याहरुको बारेमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । केन्द्र, प्रदेश र स्थानीय तहले विपद्मा परेकाहरुको उद्धार र उपचार हुन्छ भन्ने सुनिश्चित गर्नु नै राज्यको अहिलेको दायित्व भएको बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले सबै मिलेर विपद्बाट बच्ने काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्