२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न कांग्रेसको माग


78
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बाढी, पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँले नेपाली कांग्रेस संसदीय दलको बैठकले गत अविरल वर्षाको कारण गएको बाढी, पहिरोमा परेर ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेको बताउनुभयो ।

प्रमुख सचेतक घिमिरेले बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजि गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले अहिले पनि मानिसहरु उद्धारको प्रतिक्षा गरिरहेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग माग गरेको बताउनुभयो । उहाँले प्राकृतिक प्रकोपको कारणबाट विपी राजमार्ग, सडक, पुलहरु भत्किएको भन्दै खोजि, उद्धार र राहतपछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुकता देखाउन माग गरेको बताउनुभयो ।

प्रमुख सचेतक घिमिरेले दशैँ-तिहार जस्ता चाडपर्वहरु नजिक आएकाले आम नागरिकलाई यात्रा सहजताको लागि तत्काल सडक मार्ग खुलाउन आग्रह गरिएको बताउनुभयो । उहाँले बाढी पहिरोले क्षति भएका विभिन्न भौतिक संरचनाहरु खानेपानी, विद्यालय, विद्युत लगायत संरचना तत्काल निर्माण गरी सेवा सुचारु गर्न पनि माग गरिएको बताउनुभयो । उहाँले विपद्मा कालोबजारी,मूल्यवृद्धि हुने सम्भावना रहेको भन्दै अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले हवाई र सवारी साधनको भाडादरलाई सरकारले नियन्त्रण गरी साविककै भाडादरलाई कायम गरी यात्रा गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको बताउनुभयो ।

प्रमुख सचेतक घिमिरेले विपद् व्यवस्थापनको लागि नेपाली कांग्रेसका (प्रतिनिधि सभा र राष्ट्रिय सभाका) सांसदहरुबाट १५ दिनको पारिश्रमिक नेपाल सरकारलाई विपद् व्यवस्थापनको लागि प्रदान गर्ने निर्णय संसदीय दलले पास गरेको बताउनुभयो । उहाँले इजरायल र लेवनान युद्धमा नेपालीहरुको जोखिमको अवस्थाका रहेको भन्दै नेपालीहरुको सुरक्षा र नेपाल आउनेहरुलाई सुरक्षित रुपमा ल्याउन सरकारसँग माग गरेको बताउनुभयो । उहाँले बाढी पहिरो,डुबान तथा नदी कटानको कारण खेती बालीमा भएको नोक्शानीमा सरकारले किसानलाई राहतको व्यवस्था गर्न माग गरेको बताउनुभयो ।