२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


उच्च सतर्कता अपनाउन गृहमन्त्री लेखकको निर्देशन


884
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले उच्च सतर्कता अपनाउन सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र र स्थानीय तहहरुलाई निर्देशन दिनुभएको छ ।

जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन गृहमन्त्री लेखकले आग्रह गर्नुभएको हो ।

गृहमन्त्री लेखकले भन्नुभयो ‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई अलर्ट रहन निर्देशन दिएको छु ।’

थप समन्वय गर्न र त्यस सम्बन्धी आवश्यक कार्य गर्नका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताउनुभयो ।

बाढी र पहिरोले पहिले नै मुलुकका राजमार्गहरु अवरुद्ध भएको र पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन पनि गृहमन्त्री लेखकले सम्पूर्णमा आग्रह गर्नुभएको छ ।