१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दशैंअघि बिपी राजमार्ग सञ्चालन हुन नसक्ने


1.222k
Shares

सिन्धुली । रोशी खोलाको बाढी र पहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्ग दशैअघि सञ्चालन हुन नसक्ने भएको छ । केही दिनअघि सुनकोशी र रोशी नदीमा आएको बाढीले बिपी राजमार्गको नेपालथोक धुलिखेल खण्डमा अत्यधिक क्षति पुर्‍याएकाले दशैंअघि राजमार्ग सञ्चालनमा ल्याउन कठिन हुने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

लगातार तीन दिनको प्रयासपछि बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका १ को नेपालथोकबाट आँपघारीसम्मको सडक भने अस्थायी रुपमा सञ्चालनमा आएको छ । रोशी खोलाको बाढीले नेपालथोक आँपघारीबीचको बान्द्रेओडारमा २०० सय मिटर सडक बगाएको स्थानमा खोला तर्काएर सडक बनाइएको छ ।

बिपी राजमार्गअन्तर्गत नेपालथोक धुलिखेल सडकखण्डको ५० किलोमिटरमध्ये १३ किलोमिटरमा सडक क्षतिग्रस्त बनेको छ । क्षतिग्रस्त बिपी राजमार्गको नेपालथोक धुलिखेल खण्डमा अस्थायी सडक सञ्चालन गर्ने प्रयास जारी रहेपनि दशैअघि सम्भव नहुने देखिएको छ ।

बाढी र पहिरोका कारण झण्डै एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग भने सञ्चालनमा आएको छ । फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकाले घुर्मी र खुर्कोट दुवैतर्फबाट सडक खुलाउन मेसिन प्रयोग गरेको थियो ।

खुर्कोट–घुर्मी करिब ६० किलोमिटर सडकका धेरै स्थानमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो । खुर्कोट–घुर्मी खण्ड सुचारु भएसँगै खोटाङ, ओखलढुङगा सोलुखुम्बु, भोजपुर लगायतका पुर्वी पहाडी जिल्लाहरुमा भने आवागमन गर्न सुविधा भएकोे छ ।