
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले हवाई यातायातको भाडादरलाई न्यायोजित बनाउने बताउनुभएको छ ।
हवाई यातायातको भाडा ह्वात्तै बढाएको भन्दै यात्रुहरुले सरकारको आलोचना गरिरहेका बेला मन्त्री पाण्डेले चाडपर्व र विपत्तिको बेला यस क्षेत्रको भाडादरलाई न्यायोचित बनाउने कुरामा सरकारले सम्बन्धित पक्षसँग निरन्तर छलफल गरिरहेको बताउनुभएको हो ।
नेपाल हवाई यातायात नियन्त्रक संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई यातायातमा भाडा बढेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई न्यायोचित र तर्कपूर्ण बनाउने कुरामा सरकार गम्भिर भएर लागि परेको बताउनुभयो ।
मन्त्री पाण्डेले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले हवाई यातायातको क्षेत्रलाई सहज र सुलभ बनाउन चाहेको पनि बताउनभयो । नेपालमा हवाई उडानको क्षेत्रको सम्भावना बढेर गएको स्पष्ट पार्दै त्यसलाई सहज बनाउने कुरामा पनि सरकार लागि परेको मन्त्री पाण्डेको भनाई थियो ।
त्यस अवसरमा मन्त्री पाण्डेले नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश दिने गरी काम गर्न पनि सम्बन्धित पक्षलाई सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्