१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवनियुक्त प्रधानन्यायाधीश राउतद्वारा शपथ


0
Shares

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । आजै केही समयअघि राष्ट्रपति पौडेलले राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरिसक्नु भएको थियो ।

संवैधानिक परिषद्को सिफारिसमा राउतलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो । केही दिनअघि संसदीय सुनुवाइ समितिले उहाँको नाम अनुमोदन गरेको थियो ।

शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।