१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खसी व्यापारीको गुनासो – महानगरका कारण खसी हराए, बिक्री पनि भएनन्


1.547k
Shares

काठमाडौं । दशैंको बेलामा गाउँबाट काठमाडौं उपत्यकामा खसी विक्री गर्न आएका व्यापारीहरुले काठमाडौं महानगरपालिकाको अकर्मण्यताका कारण खसी हराएको आरोप लगाएका छन् ।

बुधबार बिहान काभ्रेपलाञ्चोकबाट काठमाडौंको भृकुटीमण्डपमा खसी बेच्न आएका व्यापारीहरुले महानगरका कर्मचारीहरु आएर बाँधेका खसी खोलेर छोडिदिएपछि ३ वटा खसी हराएको गुनासो गरे ।

काभ्रेबाट खसी विक्री गर्न आउनुभएका व्यापारी कालबहादुर साहले बिहान खसी ल्याएर बाँधेको र महानगरका कर्मचारी आएर यहाँ नराख भन्दै बाँधेका खसीहरु फुकाएर केही पर लगेर छोडिदिएपछि खसीहरु हराएको गुनासो गर्नुभयो । उहाँले विपद्को बेलामा दिनरात नभनि हिँडेर ल्याएका खसीहरु हराउँदा दशैँ नै खल्लो भएको बताउनुभयो ।

अर्का खसी व्यापारी काभ्रेपलाञ्चोककै कृष्णप्रसाद पाण्डेले गत सालको भन्दा यस वर्ष सस्तोमा खसी बेचिरहेको बताउनुभयो । उहाँले गाउँमा अहिले खसी महंगो रहेको तर शहरमा सस्तो रहेको बताउनुभयो । उहाँले सडक अवरुद्ध हुँदा ल्याउन गाह्रो भएको बताउनुभयो । उहाँले अहिले जिउँदो खसीको प्रतिकिलो ६५०÷६६० मा बेच्दा पनि नकिनेको गुनासो गर्नुभयो ।

अर्का काभ्रेपलाञ्चोक जिल्लाकै खसी व्यापारी सोनाम मोक्तानले बजारमा भाउ नरहेको बताउनुभयो । उहाँले उपभोक्ताहरु किन्न नआएको गुनासो गर्नुभयो । उहाँले ल्याउँदा तीन दिन हिँडाएर र १५ हजार भाडा तिरर ल्याउनुपरेको बताउनुभयो ।

यता उपभोक्ता मानबहादुर श्रेष्ठ भने गत सालको भन्दा यस वर्ष अझै महंगो भएको गुनासो गर्नुहुन्छ ।

दशैँ अगाडिको मनसुनजन्य विपत्तिका कारण यस वर्षको दशैँ उल्लासमय बन्न सकिरहेको छैन । विपद्का कारण सडक आवागमन कतिपय स्थानहरुमा अवरुद्ध हुँदा दशैँका लागि काठमाडौं भित्रिने खसी, बोका, च्याङ्ग्राहरु कम आएको बताइरहेको बेलामा काठमाडौंमा आएका खसीबोका पनि विक्री नभएको व्यपारीहरुको गुनासो छ ।