
काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ ।
बुधबार महानगरपालिकाका नगरप्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो ।
मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको छ । धर्मशाला बाहिर भने मारवाडीहरुले नाराजुलुस लगाएका थिए ।
महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो । महानगर प्रहरीले १० बजेसम्म धर्मशाला खालि गराउन माइकिङ गरेपनि नहटाएपछि महानगरप्रहरीले खालि गराएको हो ।
त्यसअघिको पत्रकार सम्मेलनका क्रममा बोल्दै मारवाडी सेवा समिति नेपालका अध्यक्ष रमेश ताडिन्याले महानगरले धर्मशालामा कुनै गतिविधि गर्न नहुनेप्रति सचेत गराउनुभएको थियो . उहाँले अदालतमा मुद्दाको पूर्णपाठ नआएको र अहिले अदालत विदामा रहेकाले पूर्ण पाठ आइसकेपछि पुरावेदन गर्न पाउने अधिकार दिनुपर्ने माग गर्नुभयो ।
नगरप्रहरीले धर्मशाला खाली गराउन खोजेपछि मारवाडीहरूसँग केहीबेर प्रतिवाद समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्