
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपद्बाट घरवास गुमाएका १० हजार परिवारलाई छिटो भन्दा छिटो पुनःवासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले विपद्बाट प्रभावित परिवारलाई छिटो भन्दा छिटो पुनःवासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले आफ्नो क्षमताले भ्याएसम्म विपद् प्रभावितहरुको उद्धार गरेको बताउनुभयो । उहाँले प्राकृतिक प्रकोप र सरकारको क्षमताको ग्यापले केही असहज परिस्थिति सिर्जना भएको बताउनुभयो । उहाँले सरकारले विभिन्न माध्यमबाट सुरक्षित स्थानमा रहन आग्रह गरेको र आम नागरिकहरुमा सजगताको कमी देखिएको बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले सरकारले अझ बढी सक्रिय भइ विपद् प्रभावितहरुको पुनःवास र पुनर्निर्माणका लागि प्रभाकारी ढंगले काम गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्